नाबालिकाको डिम्ब तस्करी गरेको आरोपमा ब्युटिसियन पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १४:३६
नाबालिकाको डिम्ब तस्करी गरेको आरोपमा ब्युटिसियन पक्राउ 

काठमाडौं । ललितपुरमा १७ वर्षीया एक नाबालिकाको डिम्ब अवैध रूपमा झिकेर बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले लमजुङ घर भई हाल ललितपुरको इमाडोलमा ब्युटिसियनको रूपमा कार्यरत राधिका गोतामेलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार साउन १ गते पक्राउ परेकी गोतामेले ती नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर ग्वार्कोस्थित बिएन्डबी अस्पतालको आइभिएफ सेन्टरमा पुर्‍याइ डिम्ब निकाल्न लगाएकी थिइन् । डिम्ब झिके बापत नाबालिकालाई ३० हजार रुपैयाँ दिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

डिम्ब झिकेपछि ती १७ वर्षीया किशोरीको स्वास्थ्यमा समस्या आएको थियो । उनी बिरामी परेपछि मात्रै यो घटना प्रहरीसम्म पुगेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार चिनजानकै साथीमार्फत ती किशोरी राधिकाको सम्पर्कमा पुगेकी थिइन् ।

‘चिनेको साथीले राधिकालाई भेटाइदिएको र राधिकाले आर्थिक प्रलोभन देखाई अस्पताल पुर्‍याएर डिम्ब झिक्न लगाएको खुलेको छ, एसपी मिश्रले भने, ‘अहिले किशोरीको स्वास्थ्य अवस्था र घटनाको प्रकृतिबारे हामीले विस्तृत अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीले यस घटनालाई ‘मानव बेचबिखन’ को कसुरअन्तर्गत राखेर अनुसन्धान अघि बढाएको छ । डिम्ब झिक्ने प्रक्रियामा संलग्न चिकित्सक र अन्य सहयोगीहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि नेपालमा नाबालिकाको डिम्ब तस्करीका घटनाहरू सार्वजनिक भएका थिए । सो समयमा प्रहरीले अनुसन्धान अघि बढाए पनि महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी विवादमा तानिएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×