
धनगढी । धनगढीमा २० औँ सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीलाई कृष्ण मन्दिर व्यवस्थापन समितिले धर्मशाला छाड्न निर्देशन दिएको छ । बिहीबारदेखि ५ बुँदे माग राख्दै अनिश्चितकालीन अनसन थालेका डा. केसीलाई शुक्रबार व्यवस्थापन समितिले पत्र थमाउँदै धर्मशाला खाली गर्न आग्रह गरेको हो ।
धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले डा. केसी बास बस्ने बहानामा आएर बिना जानकारी अनसन बसेको आरोप लगाएका छन् । ‘उहाँ बास बस्छु भनेर आउनुभएको थियो, तर कुनै जानकारी नै नदिई अनसन बस्नुभयो,’ अध्यक्ष पन्तले भने, ‘धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर चौतर्फी दबाब आउन थालेपछि हामीले उहाँलाई धर्मशाला छाड्न पत्र काटेका हौं ।’
अध्यक्ष पन्तले दबाब कहाँबाट आयो भन्ने स्पष्ट नखुलाए पनि बिहीबार बिहान अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले मन्दिर व्यवस्थापन समितिलाई भेटेर डा. केसीलाई अनसन बस्न नदिन अनुरोध गरेको बुझिएको छ ।
यता, डा. केसीका सहयोगी डा. अमृत जैसीले भने व्यवस्थापन समितिको कदमप्रति आश्चर्य प्रकट गरेका छन् । डा. केसीले पूर्व जानकारी दिएरै धर्मशालामा अनसन सुरु गरेको दाबी गर्दै उनले अचानक ठाउँ छाड्न भनिएपछि अब के गर्ने भन्नेबारे छलफल भइरहेको बताए । ‘हामीले जानकारी दिएरै सत्याग्रह सुरु गरेका थियौँ, तर अहिले आएर के–कति कारणले ठाउँ छाड्न भनियो, त्यो बुझ्न सकिएको छैन,’ डा. जैसीले भने ।
व्यवस्थापन समितिले पत्र थमाएपछि डा. केसी र उनको टोली अहिले वैकल्पिक स्थानको खोजीमा जुटेको छ । चिकित्सा शिक्षा सुधार र स्वास्थ्य क्षेत्रका विभिन्न ५ बुँदे माग राखेर डा. केसीले धनगढीबाट आफ्नो २० औँ सत्याग्रह सुरु गरेका हुन् । ठाउँ छोड्न दबाब आए पनि माग पूरा नभएसम्म सत्याग्रह नरोकिने केसीको टोलीले जनाएको छ ।



















