मोरङ र सुनसरीमा दुर्घटना, दुई जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार ०७:१२

विराटनगर । मोरङ र सुनसरीमा भएका अलगअलग दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना ४५ वर्षीय पुरुष हुन् ।

कोशी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित शिवम् पेट्रोल पम्पअगाडि मिनी ट्रकले बाटो क्रस गर्दै गरेको साइकललाई शुक्रबार साँझ ५ः२० बजेतिर ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४३८८ नम्बरको मिनी ट्रकको ठक्करबाट साइकल यात्री मोरङको बेलबारी नगरपालिका–५ का ४५ वर्षीय सन्ते खवासको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।

Advertisement

उनका अनुसार बाटो क्रस गर्दै गरेको अवस्थामा ट्रकले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका खवासको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा राति १०ः१२ बजेतिर मृत्यु भएको हो । दुर्घटनालगत्तै ट्रक चालक फरार रहेकाले खोजी तीव्र पारिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित दर्लामी चोकमा मोटरसाइकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ । मोरङको केराबारीबाट धरानतर्फ जाँदै गरेको मे १२ प २०३ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो १ः३० बजेतिर दुर्घटना हुँदा चालक झापाको दमक घर भएका ४५ वर्षीय गिरीराज शेर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×