
विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग सम्बन्ध रहेको आशंकामा शनिबार बिहान पक्राउ परेका विराटनगरका मुकेश कार्की प्रारम्भिक सोधपुछपछि परिवारको जिम्माजमानीमा रिहा भएका छन् ।
प्रहरीले बोलाएको बखत अनिवार्य रूपमा उपस्थित हुने सर्तमा उनलाई छाडिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । ‘कार्कीलाई थप अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तसहित परिवारको जिम्मामा छाडिएको हो । उनीमाथिको अनुसन्धान भने जारी छ,’ उनले भने ।
विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान करिब ७ः३० बजे घरबाटै पक्राउ गरेको थियो । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर सोधपुछ गरिएको थियो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कार्कीको नाम अभिषेक गिरीसँग लामो समयदेखि जोडिँदै आएको र उनी गिरीको आर्थिक तथा अन्य गतिविधिको व्यवस्थापनमा संलग्न रहेको आशंकाका आधारमा अनुसन्धान अघि बढाइएको हो । प्रहरी स्रोतका अनुसार गिरीसँग निकट रहेर हरहिसाब राख्ने, विभिन्न व्यवस्थापन गर्ने तथा सम्भावित आपराधिक गतिविधिमा सहयोग गरेको हुन सक्ने विषयमा अनुसन्धान जारी छ ।
प्रहरीले कार्की लामो समयदेखि निगरानीमा रहेको र उनलाई पक्राउ गर्न यसअघि पनि प्रयास गरिएको जनाएको थियो । उनले विराटनगरमा एउटा सुधार केन्द्र सञ्चालन गर्दै आएको जानकारी पनि प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार गिरीसँग सम्बन्ध रहेका अन्य व्यक्तिमाथि पनि अनुसन्धान जारी छ । गिरीको समूहसँग जोडिएर असुली, मिटरब्याज, धाकधम्की तथा अन्य आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा केही व्यक्तिमाथि निगरानी बढाइएको छ भने केही फरार रहेका व्यक्तिको खोजी भइरहेको छ ।
गत असार १३ गते विराटनगर–८ स्थित घरबाटै पक्राउ परेका गिरीमाथि हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुमरा
अनुसन्धान गरिरहेको छ । मोरङ प्रहरीले उनलाई कारागारभित्र कैदीबन्दीको रासन भत्ता तथा श्रम पारिश्रमिक असुली गरी आर्थिक शोषण गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । अहिले पनि गिरीसँग सम्बन्धित आर्थिक तथा संगठित अपराधका विभिन्न पक्षमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

























