
इलाम । साउन १६ गतेका लागि तोकिएको लोकसेवा आयोगको परीक्षा स्थगित भई केही दिन पछि सरेपछि इलाम आएका परीक्षार्थीहरू समस्यामा परेका छन् । परीक्षा दिन देशका विभिन्न जिल्लाबाट आएका परीक्षार्थीहरू अहिले इलामका विभिन्न होटल तथा होमस्टेमा बसिरहेका छन् ।
छोटो समयका लागि निश्चित बजेट बोकेर आएका परीक्षार्थीहरू परीक्षा सरेपछि आर्थिक र व्यावहारिक रूपमा असहज परिस्थितिमा परेका छन् । वर्तमान प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै बाहिरबाट आएका परीक्षार्थीहरूलाई अत्यन्त सहुलियत दरमा खाने र बस्ने व्यवस्था मिलाउन होटल व्यवसायी संघ इलामले सम्पूर्ण होटल व्यवसायीहरूलाई अनुरोध गरेको छ ।
बाहिरबाट आएका परीक्षार्थीलाई कुनै पनि समस्या परेमा होटल व्यवसायी संघ इलामका अध्यक्ष देवीप्रसाद पौड्याल (९८४२६३६५६७) वा महासचिव प्रकाश चापागाईँ (९८५२६८०४०८) लाई सोझै सम्पर्क गर्न सकिने संघले जनाएको छ ।
यस विषम परिस्थितिमा कतै कुनै व्यवसायीबाट बढी शुल्क असुल्ने वा ठग्ने जस्ता गतिविधि भएमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ । यस्तो संवेदनशील समयमा अनुचित फाइदा उठाउने वा गलत काम गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी समेत संघले दिएको छ ।

























