
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० वटा स्थानीय तहमा आइतबार बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शनिबार एक सूचना जारी गर्दै साउन १६ गते शनिबार अपराह्न ५ बजेदेखि साउन १७ गते आइतबार बिहान ९ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाएको जानकारी दिए ।
प्रशासन कार्यालयले साउन १२ गते राति ९ बजेदेखि लगाएको कर्फ्युलाई हटाएर शनिबार बिहान ८ः३० देखि बेलुका ५ः०० बजेसम्मका लागि निषेधाज्ञा लगाएको थियो । फेरि दोस्रो पटक निषेधाज्ञाको समय थपेको हो ।
यतिबेला निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र समावेश छन्।


























