
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडाको एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी १२ वर्षीया बालिका आइतबार बिहान मृत फेला परेकी छिन् ।
मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–९ हडियाकी १२ वर्षीया गृष्मा कार्की रहेकी प्रहरीले जनाएको छ । हडिया घर भएकी गृष्मा मोतिगडास्थित आफ्नो मामाघर आएकी थिइन् । शनिबार दिउँसो करिब २ बजेतिर दुई जना साथीहरूसँगै मोतिगडा क्याम्पस डाँडा चाँपस्थित जोर पोखरी सामुदायिक वन उपभोक्ता समूहको पोखरीमा पौडी खेल्न गएका बेला उनी डुबेर बेपत्ता भएकी थिइन् ।
गृष्मा पोखरीमा डुबेपछि साथीहरूले घरमा खबर गरेका थिए । प्रहरीलाई दिउँसो ३ बजे मात्र घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको तालिमप्राप्त उद्धार टोली परिचालन गरिएको थियो । शनिबार झमक्कै रात पर्दासम्म डुङ्गा र पौडीको माध्यमबाट खोजी गर्दा पनि बालिका फेला नपरेपछि सुरक्षा टोली फर्किएको थियो ।
आइतबार (आज) बिहानैदेखि पुनः सुरु गरिएको खोजीका क्रममा बिहान ८ः३० बजेतिर बालिकाको शव पोखरीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























