
काठमाडौँ । कर्पोरेट क्रिकेट लिग (सीसीएल) को तेस्रो सिजन आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगिता बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा सञ्चालन हुनेछ ।
भेट्रान्स फोर्टी क्लबले आयोजना गर्न लागेको यस प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका २० वटा कर्पोरेट टोलीहरूको सहभागिता रहनेछ । सहभागी टोलीहरूलाई चार समूहमा विभाजन गरी खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।
सिंगल राउन्ड रोबिन लिग चरणको खेलपछि प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चार दिनसम्म चल्ने यस प्रतियोगितामा कुल ४७ वटा खेलहरू खेलाइनेछ ।
यसअघि दुई वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको र तेस्रो संस्करणलाई अझ व्यवस्थित तथा प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको क्लबका अध्यक्ष सन्तोष भण्डारीले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताका प्राविधिक निर्देशक रबिन्द्र गुप्ताका अनुसार प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार निष्पक्ष र उच्चस्तरीय ढङ्गले सञ्चालन गर्न आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको छ । प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगद र ट्रफीका साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिनेछ ।



















