
विराटनगर । पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका धार्मिक तथा जातीय द्वन्द्वका घटनाप्रति चिन्ता व्यक्त गर्दै मोरङको लेटाङका विभिन्न धर्मका गुरुहरूले सामाजिक सद्भाव र शान्तिका लागि संयुक्त अपिल गरेका छन् ।
सुनसरीको कप्तानगन्ज लगायतका क्षेत्रमा भएका हिंसात्मक झडप र असहज परिस्थितिको पृष्ठभूमिमा लेटाङ नगरपालिका, अन्तरधार्मिक शान्ति सञ्जाल र सामुदायिक विकास मञ्चको संयुक्त आयोजनामा भएको ‘सर्वपक्षीय भेला तथा शान्ति सद्भाव परिक्रमा’ कार्यक्रममा धर्मगुरुहरूले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा हिन्दु धर्मका गुरु राजेन्द्र ढकाल, इस्लाम धर्मका मौलाना मो. अताउल्लाह, बौद्ध धर्मका लामा राजेन्द्र स्वाङ्वो, इसाई धर्मका पास्टर आकाश थुलुङ र किराँत धर्मका गुरु धर्मराज लिम्बूले संयुक्त अपिल जारी गरेका हुन् । उनीहरूले कप्तानगन्ज घटनाबाट पाठ सिक्दै दन्किरहेको द्वन्द्वको ज्वालालाई अन्तरधार्मिक संवादको माध्यमबाट निभाउनुपर्नेमा जोड दिए ।
धर्मगुरुहरूले जारी गरेको अपिलमा भनिएको छ, ‘नेपाल बहुजाति, भाषा र संस्कृतिको बलियो एकता भएको देश हो । यहाँ घृणाले होइन, भाइचारा र विवेकले मात्र समाजलाई समृद्ध बनाउन सकिन्छ । कप्तानगन्ज जस्ता घटनाले हाम्रो सामाजिक एकता कति संवेदनशील छ भन्ने पुनः स्मरण गराएको छ ।’
लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले लेटाङमा २०६५ सालदेखि नै धार्मिक र सामाजिक सद्भावका लागि निरन्तर काम भइरहेको बताए । ‘१८ वर्षअघि धर्मगुरुहरूमार्फत सुरु गरिएको यो अभियान आज झनै सान्दर्भिक भएको छ,’ नगर प्रमुख लावतीले भने, ‘शान्ति बन्दुकको नालबाट होइन, आपसी विश्वास र सद्भावबाट मात्र सम्भव छ । नेपाली समाजको यो विशिष्ट एकतामा कुनै पनि खालको वितण्डा मच्चिन दिनु हुँदैन ।’

गएको साउन १० गते सुनसरीको कप्तानगन्जमा दुई समूहबीच भएको झडपमा परी दुई जनाको ज्यान गएको र दर्जनौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै हिन्दु धर्मगुरु राजेन्द्र ढकालले चिराचिरा भएका विचार र भावनालाई जोड्न अहिंसा र शान्तिको सन्देश फैलाउनुपर्ने बताए । उनले अन्तरधार्मिक शान्ति अभियानलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए ।
लेटाङ नगरपालिका–१ स्थित अन्तरधार्मिक शान्ति पार्कमा आयोजित उक्त कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख एवं विभिन्न क्षेत्रका नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले नगर परिक्रमा गर्दै शान्ति र सद्भावका नाराहरू गुन्जाएका थिए ।
यस कार्यक्रमले लेटाङलाई धार्मिक सहिष्णुताको नमुना क्षेत्रको रूपमा स्थापित गर्दै छिमेकी जिल्ला र देशभरि नै सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ ।

























