
झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कोटी होममा सोमबार बिहान सवारी साधनको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गमा सडक पार गर्ने क्रममा पिकअपले ठक्कर दिँदा ७० वर्षीय प्रल्हाद सिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५१०४ नम्बरको पिकअपले आज बिहान कोटी होम क्षेत्रमा बाटो काट्ने क्रममा पैदल यात्री सिवाकोटीलाई ठक्कर दिएको थियो । सिवाकोटी कनकाई नगरपालिका–४ कै बासिन्दा हुन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडतर्फ लगिएको थियो । तर, अस्पताल पुग्नुअघि नै बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालयले दुर्घटनामा संलग्न पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि पठाइएको र घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

























