प्रतीकात्मक तस्बिरकाठमाडौं । नेपाल प्रहरीले तीन महिनाको अवधिमा देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत वैशाख १ देखि असार मसान्तसम्मको अवधिमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कोशी प्रदेशबाट ७ सय १३, लुम्बिनी प्रदेशबाट ५ सय ११, काठमाडौँ उपत्यकाबाट ५ सय ११, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७, बागमती प्रदेशबाट ४ सय २८, मधेश प्रदेशबाट २ सय ५५, गण्डकी प्रदेशबाट १ सय ८९ र कर्णाली प्रदेशबाट १ सय २१ जना रहेका छन्। त्यस्तै लागूऔषध नियन्त्रण ब्युरोको टोलीले १ सय ३१ जनालाई पक्राउ गरेको छ।
सोही अवधिमा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषधसमेत बरामद गरेको छ। प्रहरीले ८ हजार ६ सय ३२ किलो ६ सय ८३ ग्राम गाँजा, ३१ किलो १ सय ६८ ग्राम चरेस, ५ किलो ७ सय ९२ ग्राम कोकिन, ११ किलो ८ सय ९४ ग्राम हेरोइन, १ सय २७ किलो १ सय ६० ग्राम अफिम र २१ किलो ६ सय ४६ ग्राम पोलेन बरामद गरेको छ।
यसैगरी ९ लाख ७६ हजार ६ सय २६ ट्याब्लेट ट्रामाडोल, १९ हजार १ सय १० ट्याब्लेट नाइट्राभेट, ३३ हजार ३ सय ९ ट्याब्लेट स्पास्मो, ९ हजार ५ सय ५३ एम्पुल डाइजेपाम, १६ हजार ६ सय ५४ एम्पुल फेनारगन र ८ हजार १ सय ३० एम्पुल बुप्रेनोर्फिन बरामद गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध कारोबारलगायत आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रहरीले जनाएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत लागूऔषधको उत्पादन, ओसारपसार र प्रयोगबाट पर्ने असरबारे जनचेतनामूलक कार्यक्रमहरूसमेत सञ्चालन भइरहेका छन्।



















