पाँचथरका पशुचौपायामा रेबिज, बढाइयो निगरानी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १७:२३
फाइल तस्बिर

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा सामुदायिक कुकुरले टोकेपछि बिरामी परेका चौपाया धमाधम मर्न थालेका छन्। गाईगोरु, राँगा र बाख्रा मर्न थालेपछि स्थानीय किसान त्रासमा परेका हुन्। स्थानीय बासिन्दाले जानकारी गराएपछि प्राविधिकसहितको टोलीले परीक्षण, उपचार र निगरानी बढाएको छ।

तीन दिनयता फाल्गुनन्द–६ का लोकबहादुर आङदेम्बेको राँगो, महेन्द्रकुमार नेम्वाङ र डिकिन नेम्वाङका गोरु, जयवीर राई र कल्पना शेर्माको भैंसी, अभिन्द्र नेम्बाङको बाख्रा तथा लिलामाया रिजालको गाई गरी १५ वटा चौपाया मरेका छन्। यसअघि फाल्गुनन्द–२ इम्वुङमा पनि दुई गोरु, दुई भैंसी र एउटा गाई मरेको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ।

Advertisement

लाखौँ मूल्य पर्ने गाईभैंसी मरेपछि किसान चिन्तित बनेका छन्। फाल्गुनन्दका विभिन्न वडामा हालसम्म १५ वटा पशु रेबिजकै कारण मरिसकेका छन् भने ५६ वटा चौपायामा रेबिजको लक्षण देखिएको छ। मरेका अधिकांश चौपायाको परीक्षण गर्दा रेबिज संक्रमण पुष्टि भएको छ।

पशु सेवा शाखाका प्राविधिक गोपाल घिमिरेका अनुसार वडा ६ र ७ मा सबैभन्दा धेरै जोखिम देखिएको छ। बाहिरबाट आएको कुकुरले टोकेका चौपायामा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएको र मरेका पशुमा रेबिजका जीवाणु भेटिएका छन्।

दुई सातायता फाल्गुनन्दसँगै हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकामा समेत कुकुरको आतङ्क बढेको छ। हिलिहाङमा पनि निगरानीमा राखिएका खसीबोका मरेपछि गरिएको परीक्षणमा रेबिज पुष्टि भएको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र फिदिमले जनाएको छ।

सामुदायिक कुकुरले पशुचौपायाका साथै मानिसलाई समेत टोकेको फाल्गुनन्द–६ का वडाध्यक्ष नारायणप्रसाद आङदेम्बेले बताए। वडा १ नवमीडाँडामा एउटै कुकुरले दुई जना मानिसलाई टोकेको थियो, उक्त कुकुरको परीक्षण गर्दा पनि रेबिज संक्रमण पुष्टि भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.