सौराहा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थाल्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार ०८:४०
फाइल तस्बिर

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा विगत दुई सातादेखि एउटा नयाँ जंगली हात्ती देखा परेको छ । अन्दाजी १८–१९ वर्षको यो युवा भाले हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा विचरण गरिरहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार यो हात्ती हाल सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीहरू राखिएका ठाउँ (हात्तीसार) तिर आउने जाने गरिरहेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ रहेका अन्य जंगली हात्तीले लखेटेका थिए ।

Advertisement

संरक्षण अधिकृत पौडेलले दिएको जानकारी अनुसार जंगली हात्तीको बथानको नेतृत्व पोथी हात्तीले गर्ने गर्दछ । अल्लारे उमेरका भाले हात्तीले बथानमा उपद्रो मच्चाएमा वा अन्य स्वभावगत कारणले बथानको कमान्डरले उनीहरूलाई लखेट्ने गर्दछ । यसरी बथानबाट लखेटिएपछि यस्ता हात्तीहरू एक्लै विचरण गर्ने गर्छन् ।
अहिले यो नयाँ हात्ती पोथीको खोजीमा सौराहाका हात्तीसार र निकुञ्जका अन्य हात्ती भएका स्थानमा पुग्ने गरेको छ । खुसीको कुरा, यसले हालसम्म मानव बस्तीमा पसेर कुनै पनि किसिमको दुःख दिने वा क्षति पुर्‍याउने कार्य गरेको छैन ।

चितवन राष्ट्रिय निकुञ्जमा यसअघि पनि ध्रुवे, गोविन्दे र रोनाल्डो जस्ता जंगली हात्तीहरू बथानबाट छुट्टिएर एक्लै बस्दै आएका छन् । विगतमा रोमियो, नानापाटेकर र मकुना जस्ता हात्तीहरू पनि निकुञ्जमा निकै चर्चित थिए । तीमध्ये मकुनाको आक्रमणबाट जोगिन आत्मरक्षाका लागि गोली चलाउँदा केही समयअघि उसको मृत्यु भएको थियो । नयाँ हात्तीको आगमनसँगै निकुञ्ज प्रशासनले यसको गतिविधिमाथि निगरानी बढाइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.