
विराटनगर । झापामा क्रियाशील विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनहरूले विभिन्न अपराधमा संलग्न भई फरार रहेका नितेश ओली (नवराज) लाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
हल्दिबारी गाउँपालिका–१ का बासिन्दा ओलीलाई पक्राउ गर्न झापा प्रहरीले ढिलासुस्ती गरेको भन्दै १० वटा पत्रकार संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
नेपाल पत्रकार महासंघ झापा शाखाका अनुसार ओलीले सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरमार्फत पत्रकारहरूको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सामग्री सम्प्रेषण गर्नुका साथै ज्यान लिनेसम्मको धम्की दिँदै आएका छन्।
यसअघि सम्बन्धित निकायमा उजुरी परेपछि सचेत गराइएको अवस्थामा पनि उनले पत्रकारविरुद्ध तथ्यहीन र कपोलकल्पित सामग्री सामाजिक सञ्जालमा राखेर मानमर्दन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय झापामा संस्थागत रूपमा जाहेरी दर्ता भई जिल्ला अदालतबाट गत असार १५ गते नै पक्राउ पुर्जी जारी भइसकेको छ। तर, पक्राउ पुर्जी जारी भएको लामो समय बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि प्रहरी प्रशासनको भूमिका र क्षमतामाथि गम्भीर प्रश्न उठेको पत्रकार संगठनहरूको ठहर छ।
नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्कासहित १० वटा पत्रकार सम्बद्ध संगठनका प्रमुखहरूले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै अभियुक्तलाई तत्काल कानुनी दायरामा ल्याउन, सामाजिक सञ्जालमार्फत भइरहेका अवाञ्छित गतिविधि रोक्न र दण्डहीनताको अन्त्य गर्न माग गरेका छन्।




















