
पोखरा । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का तीन जना युवक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ छन्।
माछापुछ्रे गाउँपालिका-९ स्थित बादलडाँडा नजिकैको जङ्गलमा उनीहरूले बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरिएको छ। हाल उनीहरू सबैको मोबाइल फोन बन्द रहेको माछापुछ्रे-६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए।
मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जङ्गलमा हराएको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजी कार्य तीव्र पारेको छ। उद्धार टोलीले बिहानैदेखि सम्भावित क्षेत्रमा खोजी जारी राखेको प्रहरीले जनाएको छ।



















