
काठमाडौं । यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि विभागका अनुसार साउन २२ गतेसम्म देशभर धान रोप्न योग्य कुल क्षेत्रफलको ९५.५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ।
गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको गति सुधारिएको देखिएको छ। गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको थियो।
नेपालमा यस वर्ष कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। त्यसमध्ये हालसम्म १३ लाख ८ हजार ३ सय ८३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विभागको तथ्याङ्कले देखाएको छ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ। उक्त प्रदेशमा धान खेती हुने १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमै रोपाइँ सकिएको विभागले जनाएको छ।
मधेश प्रदेशमा पनि गत वर्षको तुलनामा रोपाइँको अवस्थामा उल्लेख्य सुधार आएको छ। गत वर्ष सोही अवधिमा ६६.५४ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष साउन २२ गतेसम्म ९४.६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। यसले धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

























