झापामा मानव–हात्ती द्वन्द्व: एक वर्षमा ६ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार ०६:४३
झापामा मानव–हात्ती द्वन्द्व: एक वर्षमा ६ जनाको मृत्य 

झापा । झापामा मानव र जंगली हात्तीबीचको द्वन्द्वका कारण पछिल्लो एक वर्षमा ठुलो जनधनको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२ / ८३ मा हात्तीको आक्रमणबाट प्रभावित भएकाहरूलाई सरकारले करिब दुई करोड रुपैयाँ राहत वितरण गरेको छ ।

कार्यालयले दिएको जानकारीअनुसार यस अवधिमा हात्तीको आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका छन् भने १७ जना सख्त घाइते भएका छन् । हात्तीपीडितलाई कुल १ करोड ९९ लाख ९० हजार ६८६ रुपैयाँ राहत वितरण गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गोइवार यादवले जानकारी दिए ।

Advertisement

कार्यालयका अनुसार मृतक ६ जनाका परिवारलाई प्रतिपरिवार १० लाखका दरले ६० लाख रुपैयाँ राहत प्रदान गरिएको छ । त्यस्तै, आक्रमणमा परी सख्त घाइते भएका १७ जनाको उपचारका लागि २६ लाख ६० हजार ८६२ रुपैयाँ खर्च भएको छ ।

मानवीय क्षतिका अतिरिक्त हात्तीले सर्वसाधारणको भौतिक सम्पत्ति र बालीनालीमा पनि ठुलो क्षति पुर्‍याएको छ । कार्यालयको तथ्यांकअनुसार २६८ वटा घर गोठमा क्षति पुगेबापत ४२ लाख ५४ हजार ५६० रुपैयाँ राहत दिइएको छ । बालीनाली नष्ट गरिदिएबापत ५४ लाख ५ हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ ।

त्यस्तै, १९१ वटा घटनामा भण्डारण गरी राखिएको अन्न हात्तीले खाएर वा नष्ट गरेर क्षति पुर्‍याउँदा १५ लाख २० हजार २६४ रुपैयाँ राहत दिइएको छ । १५ वटा घरपालुवा जनावर (पशुधन) को क्षतिबापत १ लाख ५० हजार रुपैयाँ वितरण गरिएको छ ।

झापाका विभिन्न पालिकामा जंगली हात्तीको त्रास कायमै रहेको छ । वन कार्यालयले हात्तीको आक्रमणबाट बच्न र क्षति न्यूनीकरणका लागि सचेतना अपनाउन आग्रह गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.