बढ्दै साइबर अपराध: सजगता नअपनाए लाग्न सक्छ कानुनी झमेला

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण २४, आइतबार १८:०३

विराटनगर । इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग बढेसँगै साइबर अपराधका घटना पनि बढिरहेका छन्। फेसबुक, टिकटक, युट्युब, म्यासेजिङ एपलगायत सामाजिक सञ्जालमा सत्यतथ्य नबुझी सूचना शेयर गर्ने, अरूको तस्बिर तथा व्यक्तिगत विवरण दुरुपयोग गर्ने र गलत सूचना फैलाउने प्रवृत्तिले विभिन्न समस्या निम्त्याइरहेको छ।

इन्टरनेटको माध्यमबाट मानिसले घरमै बसेर सूचना आदानप्रदान, अध्ययन, व्यापार तथा मनोरञ्जनलगायत धेरै काम गर्न थालेका छन्। इन्टरनेटले जीवनलाई सहज बनाए पनि यसको गलत प्रयोगले व्यक्ति र समाजलाई नै असर पार्न सक्छ। यही कारण इन्टरनेट प्रयोग गर्दा जिम्मेवार र सभ्य हुन आवश्यक छ।

Advertisement

अनलाइनमा अरूको सम्मान गर्ने, व्यक्तिगत जानकारी सुरक्षित राख्ने, कसैलाई दुःख नदिने र गलत सूचना नफैलाउने व्यवहारलाई सामान्य रूपमा साइबर नैतिकता भन्न सकिन्छ। तर, सामाजिक सञ्जालमा यसविपरीतका गतिविधि बढ्दै गएका छन्। कसैको अनुमति बिना तस्बिर सार्वजनिक गर्ने, गलत आरोप लगाउने, चरित्रमा प्रश्न उठाउने, गालीगलौज गर्ने तथा झुटा समाचार फैलाउने जस्ता गतिविधि साइबर अपराधका कारण बन्न सक्छन्।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापा सामाजिक सञ्जालमा आउने सबै सूचना सत्य नहुने भएकाले प्रयोगकर्ताले कुनै पनि सामग्री शेयर वा पोस्ट गर्नुअघि त्यसको सत्यता जाँच गर्नुपर्ने बताउँछन्। उनका अनुसार सामाजिक सञ्जालको गलत प्रयोगका कारण अफवाह फैलिने, व्यक्तिको चरित्रमा असर पर्ने र समाजमा अनावश्यक तनाव सिर्जना हुने अवस्था देखिएको छ। त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा कानुनी र सामाजिक जिम्मेवारीलाई ध्यान दिनुपर्ने उनको भनाइ छ।

गलत सूचना फैलाउने प्रवृत्तिले विशेष गरी संवेदनशील विषयमा ठूलो असर पार्न सक्छ। धर्म, जाति, समुदाय वा राजनीतिक विषयसँग जोडिएका झुटा सूचना सामाजिक सञ्जालमा फैलिँदा समाजमा विवाद र तनाव बढ्न सक्छ। कतिपय अवस्थामा यस्ता अफवाहले हिंसासमेत निम्त्याउन सक्छन्। त्यसैले कुनै पनि सूचना अरूलाई पठाउनुअघि त्यसको स्रोत र सत्यता जाँच गर्न आवश्यक हुन्छ।

वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा कसैको चरित्र हत्या गर्ने, अपमानजनक सामग्री सार्वजनिक गर्ने, तस्बिर वा व्यक्तिगत विवरण दुरुपयोग गर्ने तथा झुटा सूचना फैलाउने कार्यलाई सामान्य रूपमा लिन हुँदैन। यस्ता कार्य प्रचलित कानुनअनुसार कारबाहीको विषय बन्न सक्ने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो अधिकारसँगै कानुनी जिम्मेवारीबारे पनि जानकारी राख्नुपर्ने उनले बताए।

साइबर अपराधबाट जोगिन सामाजिक सञ्जालमा आएका हरेक सूचना विश्वास नगर्ने, स्रोत नखुलेका सामग्री शेयर नगर्ने, बलियो पासवर्ड प्रयोग गर्ने र व्यक्तिगत विवरण अपरिचित व्यक्तिसँग सार्वजनिक नगर्ने बानी बसाल्न आवश्यक रहेको र कुनै व्यक्ति वा संस्थासँग सम्बन्धित गम्भीर सूचना भए त्यसलाई आधिकारिक स्रोतबाट पुष्टि गरेपछि मात्र अरूलाई जानकारी दिनुपर्ने उनको भनाइ छ।

कसैलाई सामाजिक सञ्जालमार्फत लगातार गाली गर्ने, धम्क्याउने, जिस्क्याउने वा मानसिक रूपमा दुःख दिने कामलाई सामान्य मजाक मानिँदैन। यस्तो साइबर बुलिङ गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुन सक्छ। त्यस्तै धर्म, जात, समुदाय वा अन्य विषयलाई लिएर समाजमा द्वन्द्व, घृणा वा असहिष्णुता बढाउने सामग्री फैलाएमा पनि विद्युतीय कारोबार ऐनको दफा ४७ र मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ अनुसार कारबाही हुन सक्छ।

सामाजिक सञ्जालमार्फत बालश्रम, बालविवाह, बहुविवाह, मानव बेचबिखन वा जातीय छुवाछुतलाई प्रोत्साहन गर्न पनि कानुनले रोक लगाएको छ। यस्तो कार्यमा मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ को दफा १५ (१) को खण्ड (ङ) र (ज) तथा दफा १५ (२) को खण्ड (ज) एवं जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव ऐन, २०६८ को दफा ४ (५) र (१२) अनुसार कारबाही हुन सक्छ।

बालबालिकाको विषयमा सामाजिक सञ्जाल प्रयोग गर्दा अझ बढी सावधानी अपनाउनुपर्छ। बालबालिकाको यौन शोषण, यौन दुर्व्यवहार, मानव बेचबिखन वा उनीहरूलाई हानि पुग्ने कामलाई प्रोत्साहन गर्ने सामग्री राख्न वा फैलाउन पाइँदैन। यस्तो कार्यमा बालबालिकासम्बन्धी ऐनको दफा ६६ (३) र दफा ७२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ अनुसार कारबाही हुन सक्छ।

महिलालाई लक्षित गरेर अपमानजनक, हिंसात्मक वा हानि पुग्ने सामग्री सामाजिक सञ्जालमा राखेमा पनि कानुनी कारबाही हुन सक्छ। यस्तो अवस्थामा विद्युतीय कारोबार ऐनको दफा ४७ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ११९, २२४ र ७० अनुसार कारबाही हुन सक्छ।

विपद् वा सङ्कटको समयमा सामाजिक सञ्जालमा झुटा सूचना वा अफवाह फैलाउनु पनि कानुनविपरीत हुन सक्छ। यस्तो कार्यमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४ लागू हुन सक्छ। त्यस्तै अश्लील, भ्रामक वा झुटा सामग्री प्रकाशन वा प्रसारण गरेमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ र ७० अनुसार कारबाही हुन सक्छ। सामाजिक सञ्जालमार्फत कसैको मानहानि अर्थात् प्रतिष्ठामा जानाजानी क्षति पुर्‍याउने काममा पनि मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ अनुसार कारबाही हुन सक्छ।

अरूको व्यक्तिगत गोपनीयता भङ्ग गर्ने काममा पनि कानुनले छुट दिएको छैन। उदाहरणका लागि, कसैको कुराकानी लुकिछिपी सुन्ने वा रेकर्ड गर्ने काममा मुलुकी अपराध संहिता, २०७४ को दफा २९३ र वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १९ आकर्षित हुन सक्छ। त्यसैगरी, कसैको गोप्य कुरा उसको अनुमति बिना सार्वजनिक गरेमा मुलुकी अपराध संहिता, २०७४ को दफा २९४ र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको दफा १८ लागू हुन सक्छ।

कसैको तस्बिर बिगारेर, गलत रूपमा सम्पादन गरेर वा अपमानजनक तरिकाले सामाजिक सञ्जालमा राख्नु पनि कानुनी समस्या बन्न सक्छ। यस्तो अवस्थामा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १६ अनुसार कारबाही हुन सक्छ। त्यस्तै, कसैको तस्बिर अनुमति बिना अरूलाई दिने वा बिक्री गर्ने कार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा २९३ र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको दफा १६ लागू हुन सक्छ।

सामाजिक सञ्जालमा गाली, बेइज्जती वा अपमान गर्ने कार्य पनि कानुनको दायरामा पर्छ। यस्तो कार्यमा मुलुकी अपराध संहिता, २०७४ का दफा ३०५, ३०६, ३०७ र ३०८ अनुसार कारबाही हुन सक्छ। त्यसैगरी, कसैको व्यक्तिगत गोपनीयता भङ्ग गरेमा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को परिच्छेद ९ अन्तर्गत दफा १९ अनुसार कारबाही हुन सक्छ।

एउटा मात्रै लापरबाहीपूर्ण पोस्ट वा शेयरले क्षणभरमै ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सामाजिक सञ्जाल प्रयोगमा गम्भीर र जिम्मेवार बन्नुपर्ने सरोकारवालाहरूको बुझाइ छ।

तपाइको प्रतिक्रिया
 झापामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
झापामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
भ्रष्टाचार मुद्दा: पूर्वमन्त्री गोविन्दराज जोशीलाई जेल बस्न नपर्ने
सुनवर्षीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
ग्यासको आयात बढेकाले सिलिन्डर ‘होल्ड’ नगर्न आग्रह
बढ्दै साइबर अपराध: सजगता नअपनाए लाग्न सक्छ कानुनी झमेला
सरकारको कार्यशैली, पार्टीको अवस्था र अदालतको आदेशबारे थापाको कडा टिप्पणी
ओलीले निर्देशन दिएकै दिन मुख्यमन्त्री कार्कीले पद छाड्ने दाबी
मृतकसँग मनमुटाव वा नोटमा नाम उल्लेख हुँदैमा आत्महत्या दुरुत्साहन नठहरिने सर्वोच्चको व्याख्या
डिम्ब तस्करी प्रकरण: डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा
नेपालयद्वारा २५ वर्षमुनिका ७५ युवा लेखकका तीन पुस्तक लोकार्पण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.