
झापा । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ।
आइतबार दिउँसो करिब ४ बजे दुर्गापुर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ५० वर्षीया मिरादेवी गौतमलाई मोटरसाइकलले ठक्कर दिएको थियो । अर्जुनधारा नगरपालिका–९ की गौतमलाई दुर्गापुरबाट सुरुंगातर्फ जाँदै गरेको प्र. १ –०१ –०१ प ३९२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी गौतमलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बि एन्ड सी अस्पताल पठाइएको थियो । उनको उपचारकै क्रममा सोही दिन बेलुका ४ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकलका चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ३ का ३१ वर्षीय गोपाल रम्तेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालकको सुरुंगास्थित स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।
हाल चालक र मोटरसाइकल दुवै इलाका प्रहरी कार्यालय सुरुंगाको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

























