
सुनसरी । सुनसरीको देवानगन्जको कप्तानगन्ज बजारमा भएको घटनापछि सिर्जित साम्प्रदायिक मनमुटावलाई न्यून गर्दै शान्ति र सद्भाव कायम गर्न सरोकारवाला निकायहरूबीच चार बुँदे सहमति भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको नेतृत्वमा विभिन्न सुरक्षा निकायका प्रमुख, विभिन्न धार्मिक संस्थाका प्रमुख, प्रतिनिधिलगायत सरोकारवालाहरूकाे उपस्थितिमा भएको बैठकले शान्ति, सद्भाव कायम गर्ने निर्णय गरेको हो । आइतबार भएको विभिन्न धार्मिक समुदायका प्रतिनिधि, नागरिक समाज र सरोकारवाला निकायहरूको संयुक्त बैठकले समाजमा आपसी भाइचारा र धार्मिक सहिष्णुता कायम राख्ने निर्णयहरू गरेकाे छ ।
बैठकले कप्तानगन्जको घटनापछि उत्पन्न तनावलाई कम गर्न आआफ्ना धार्मिक समुदायका सदस्यहरूलाई संयमता अपनाउन र समाजमा शान्ति कायम गर्न विशेष आह्वान गर्ने निर्णय गरेको छ । कुनै पनि प्रकारका साम्प्रदायिक विद्वेष फैलाउने कार्य नगर्न र आपसी सद्भावलाई प्राथमिकता दिन सबै पक्ष सहमत भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले गत साउन २० गते जारी गरेको सार्वजनिक अपिललाई कार्यान्वयन गर्दै जिल्लाका सार्वजनिक स्थान र सडक खण्डहरूमा राखिएका एकल जातीय, धार्मिक वा साम्प्रदायिक पहिचान झल्काउने झन्डा र ध्वजापताकाहरू हटाउने निर्णय भएको छ । यद्यपि, मठ–मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र व्यक्तिगत घरका हकमा भने यो नियम लागू हुने छैन । सार्वजनिक स्थलको तटस्थता कायम राख्न सबै पक्षले आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकले सार्वजनिक स्थलमा ध्वनि प्रदूषण नियन्त्रणका लागि कडा कदम चाल्ने निर्णय गरेको छ । अनुमति बिना डिजे वा माइक बजाउन रोक लगाइएको छ । सर्वोच्च अदालतको फैसला र नेपाल सरकारको ध्वनि मापदण्ड बमोजिम ग्रामीण क्षेत्रमा दिउँसो ४५ र राति ४० डेसिबल तथा सहरी क्षेत्रमा दिउँसो ५५ र राति ५० डेसिबलको सीमा नाघ्न नपाइने व्यवस्था गरिएको छ । धार्मिक प्रवचन, प्रार्थना वा भजन कीर्तन गर्दा मानवीय स्वास्थ्यलाई असर नगर्ने गरी तोकिएको ध्वनि मापदण्ड पालना गर्नुपर्नेछ ।
जिल्लामा लामो समयदेखि कायम रहँदै आएको आपसी सद्भाव, सहकार्य र एक अर्काको आस्थाप्रतिको सम्मानलाई आगामी दिनमा अझ प्रगाढ बनाउन सबै पक्षले ऐक्यबद्धता जनाएका छन् । सामाजिक एकतालाई थप मजबुत बनाउन निरन्तर संवाद र सहकार्य गर्ने सहमति भएको छ ।





















