
विराटनगर । सुनसरीको गढीमा स्कुल बसको ठक्करबाट बुधबार बिहान एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडक खण्डमा बिहान ८ः२० बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा गढी–४ की ७५ वर्षीया गुगलीदेवी महतोको मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार चिमडीस्थित बर्जु लेक आर्डडीयल ईङलिस स्कुलको को १ ख ३३९१ नम्बरको बसले ठक्कर दिँदा बाटोको साइडकमा बसिरहेकी गुगलीदेवी गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहान १०ः२४ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । छिटाहाबाट चिमडीतर्फ जाने क्रममा बसले दुर्घटना गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा विद्यार्थीहरु भने थिएनन् ।
बस र चालक बर्जु गाउँपालिका–६ का २२ वर्षीय सुदीप सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

























