
राेल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । तीन जना अझै बेपत्ता छन् ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार घटनास्थलबाट पाँच र प्युठानको माडी नदी किनारमा पाँच जनाको शव भेटिएको हो । मृत्यु हुनेमध्ये आठ जनाको सनाखत भएको छ । सनाखत हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर, ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय अशिम पुन र ५ वर्षीय अशोक पुन रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा गम्भीर घाइते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई बुटवलस्थित प्रादेशिक अस्पताल पठाइएको छ । पहिरोले नौ घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च पुरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली उद्धारमा खटिएको छ । ठूलो पहिरोका कारण खोजी कठिन बनेको र शुक्रबार पनि बेपत्ताको खोजी जारी राखिने प्रहरीले जनाएको छ । बधबार साँझ करिब ७:४५ बजेतिर गएको पहिराेले आसपासका केही घरसमेत जोखिममा छन् ।

























