
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार बारमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोलाप्रथाबाट गठन हुनुपर्नेमा प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुसी गठन गर्ने गरेको आरोप लगाए।
वरिष्ठता मिचेर प्रधान न्यायाधीश नियुक्त गर्ने र त्यसपछि प्रधान न्यायाधीशले मनोमानी ढङ्गले संवैधानिक इजलास गठन गरी निश्चित मुद्दाहरू उक्त इजलासमा पठाउने परिपाटीविरुद्ध बार चुप लागेर नबस्ने उनले चेतावनी दिए। यस विषयमा प्रधान न्यायाधीश शर्माको ध्यानाकर्षण गराइसकिएको र आगामी कदमबारे बारभित्र छलफल भइरहेको उनले जानकारी दिए।
अध्यक्ष मिश्रले स्वतन्त्र, स्वच्छ र सरकारका कामलाई नियन्त्रण गर्दै कानुनबमोजिम न्याय सम्पादन गर्न सक्ने सक्षम न्यायपालिका नै बारको मुख्य चाहना रहेको बताए। साथै, उनले पछिल्लो समय न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप बढ्दै गएको र एकपछि अर्को विवाद थपिँदै गएकोमा चिन्ता व्यक्त गरे।
‘संवैधानिक इजलास कि त वरिष्ठताका आधारमा कि त गोलाप्रथाबाट तय हुनुपर्छ भन्ने हाम्रो आधिकारिक मान्यता हो। निश्चित मुद्दाहरू टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्याउने काम सुरु भएको खबर आएका छन्। यसरी आफूखुसी इजलास गठन गर्ने र निश्चित मुद्दा राख्ने हो भने बार चुप लागेर बस्दैन,’ उनले भने, ‘व्यक्तिहरू आउँछन्, जान्छन्, तर मुख्य कुरा स्वतन्त्र र स्वच्छ न्यायपालिकाको रक्षा गर्नु हो। हामीले यस विषयमा प्रधान न्यायाधीशको ध्यानाकर्षण गराइसकेका छौँ।’

























