
ललितपुर। झापा क्षेत्र नम्बर १ बाट काठमाडौंमा बसोबास गर्दै आएका युवाहरूको आयोजनामा सम्पन्न ‘दोस्रो झापा १–काठमाडौँ कप’ फुटसल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ।
ललितपुरस्थित रोयल स्पोर्ट्स पार्कमा शनिबार भएको फाइनल भिडन्तमा बुद्धशान्ति गाउँपालिकालाई पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो। प्रतियोगितामा साविक विजेता धुलाबारी एफसी तेस्रो स्थानमा सीमित भयो।
विजेता टोली मेचीनगरले ५० हजार रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको बुद्धशान्ति गाउँपालिकाले २५ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
विधागततर्फ मेचीनगरका खेलाडीहरूको वर्चस्व रह्यो। मेचीनगरका प्रवेश खड्का प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी, मेचीनगरकै रोहन कार्की उत्कृष्ट गोलरक्षक र अभिषेक श्रेष्ठ सर्वाधिक गोलकर्ता चुनिए।
प्रतियोगितामा झापा क्षेत्र नम्बर १ अन्तर्गतका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र भद्रपुर नगरपालिकाका वडा गरी विभिन्न १६ वटा टोलीहरूले सहभागिता जनाएका थिए।
विजेता तथा उपविजेता टोलीलाई पूर्वमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए।

























