
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) को नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा सम्पन्न ५९ औँ वार्षिक साधारण सभा तथा २५ औँ कार्यसमितिको निर्वाचनबाट भरतजंग पाण्डे सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका लागि भएको त्रिपक्षीय प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरेका थिए । पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका पाण्डे एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक हुन् ।
नाट्टाको वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा र सह–सचिव/सह–कोषाध्यक्षमा जीवन कोइराला निर्वाचित भएका छन् ।
त्यस्तै, कार्य समिति सदस्यहरूमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा ‘डिजिटल नाट्टा’ को अवधारणालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संस्थाभित्र सुशासन र पारदर्शिता कायम गर्ने, सदस्यहरूको बृहत्तर सहभागिता सुनिश्चित गर्ने तथा पर्यटन क्षेत्रमा रहेका नीतिगत जटिलताहरू हटाउन सरकारसँग समन्वय गर्ने बताएका छन् । साथै, उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सशक्त बनाउने योजना समेत सुनाएका छन् ।



















