
काठमाडौं। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा अनलाइनमार्फत नै आबद्ध हुन सकिने नयाँ व्यवस्था सुरु गरेको छ।
यस नयाँ प्रणालीमार्फत नयाँ आबद्धता, बिमालेख नवीकरण तथा सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक (केवाईसी अपडेट) लगायतका सबै काम घरबाटै गर्न सकिनेछ। यसअघि दर्ता सहयोगीमार्फत बिमामा आबद्ध हुनुपर्ने बाध्यता रहेकोमा अब भने सर्वसाधारण आफैँले अनलाइन फाराम भरेर सेवा लिन सक्ने बोर्डका प्रवक्ता डा. पवनकुमार शाहले जानकारी दिए।
‘विद्युतीय माध्यमबाट स्वास्थ्य बिमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम यो सेवा सञ्चालनमा ल्याइएको हो। बिमा शुल्क भुक्तानीका लागि ‘इसेवा’, ‘खल्ती’ र ‘कनेक्ट आईपीएस’ जस्ता डिजिटल माध्यमको व्यवस्था गरिएको छ। यो व्यवस्थापछि व्यक्ति स्वयं वा दर्ता सहयोगीले डिजिटल माध्यमबाट परिवारलाई बिमामा आबद्ध गराउन वा नवीकरण गर्न सक्नेछन्।
हाल देशभर ५९ लाख ७० हजार ४ सय ३ जना स्वास्थ्य बिमामा आबद्ध भइसकेका छन्। बोर्डको नियमानुसार पाँचजना सम्मको परिवारका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँ योगदान रकमबापत १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ।
परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य ७ सय रुपैयाँका दरले योगदान रकम थपिँदै जानेछ भने सेवा सुविधामा पनि प्रतिसदस्य २० हजार रुपैयाँका दरले थप हुँदै जाने प्रावधान छ। यसबाहेक आठ प्रकारका कडा रोगका लागि १ लाख रुपैयाँबराबरको अतिरिक्त सेवा प्रदान गरिने बोर्डले जनाएको छ।

























