
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर सर्पदंशको उपचारका लागि आवश्यक पर्ने ‘एन्टी स्नेक भेनम’ (एएसभी) को अभाव नहुने स्पष्ट पारेको छ ।
हाल देशभर २४ सय भाइल औषधि मौज्दात रहेको र थप औषधिको आपूर्ति प्रक्रिया अन्तिम चरणमा पुगेको महाशाखाले जनाएको छ । महाशाखाका प्रकोप व्यवस्थापन प्रमुख डा. अमृत पोखरेलका अनुसार मौज्दात रहेको २४ सय भाइलमध्ये ८ सय भाइल विशेष गरी सर्पदंशको उच्च जोखिम रहेको तराई क्षेत्रका लागि सुरक्षित राखिएको छ । यो मौज्दातले करिब दुई हजार बिरामीको उपचार गर्न पुग्ने र थप एक साताभित्रै भारतबाट नयाँ खेप आइपुग्ने उनले जानकारी दिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंश विशेषज्ञ डा. सञ्जीवकुमार शर्माले पनि औषधिको स्थितिबारे आकस्मिक छलफल गर्दै हालको मौज्दातले थप एक महिनासम्म उपचार सहजै धान्न सक्ने बताए । ‘अभाव भएर उपचार नपाउने स्थिति छैन, खरिद प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने।
नेपालमा पाइने सर्पका प्रजातिहरू भारतसँग मिल्दाजुल्दा भएकाले यो औषधि भारतबाटै आयात गर्ने गरिएको छ । महाशाखाका निर्देशक डा. अनुज भट्टचनले औषधि खरिद प्रक्रिया तीव्र गतिमा अघि बढेको र सक्दो छिटो आपूर्ति हुने सुनिश्चितता गरेका छन् ।
व्यवस्थापन महाशाखाका अधिकृत डा. चेतननिधि वाग्लेका अनुसार यस वर्षका लागि १३ हजार २०० भाइल औषधिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । आपूर्ति गर्ने कम्पनीले यही साताभित्रै औषधि ल्याउने प्रतिबद्धता जनाएको छ । हाल माग बढी भएका वा अभाव देखिएका स्थानहरूमा मौज्दातबाटै औषधि पठाउने कार्य भइरहेको महाशाखाले जनाएको छ ।

























