
झापा । झापाको झापा गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा टिफरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । शनिबार साँझ भएको उक्त दुर्घटनापछि आक्रोशित स्थानीयले टिफरमा तोडफोड समेत गरेका छन् ।
प्रहरीका अनुसार शनिबार बेलुका ५ः२० बजेतिर ४ नम्बर वडा कार्यालय अगाडि बालुवा बोकेको ना ५ ख ६४९० नम्बरको टिफरले बाटो काट्दै गरेका सोही ठाउँका ६५ वर्षीय साइकल यात्री इशनलाल गणेशलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो ।
अस्पताल पुर्याउँदा गम्भीर अवस्थामा रहेका गणेशको उपचारकै क्रममा साँझ ६ः२० बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय कुमरखोदले टिफर चालक झापा गाउँपालिका–३ का ३६ वर्षीय फागुलाल राजवंशीलाई नियन्त्रणमा लिएको छ । वृद्धको मृत्युको खबर पाएपछि आक्रोशित बनेका स्थानीयले साँझ ६ः३० बजेतिर घटनास्थलमा रहेको टिफरमा ढुंगामुढा प्रहार गरेका छन् ।
ढुंगा प्रहारबाट टिफरको अगाडिको सिसामा क्षति पुगेको छ । अहिले घटनास्थलको स्थिति नियन्त्रणमा लिन र टिफरलाई सुरक्षित स्थानमा लैजान प्रहरीले पहल गरिरहेको जनाइएको छ ।



















