वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३१, आइतबार १०:४४

काठमाडौं। वाणिज्य बैंकहरूमा ब्याजदर घट्ने क्रमले भदौ महिनामा पनि निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको भदौ महिनाको नयाँ ब्याजदर अनुसार साउनको तुलनामा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ५ वटाले ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले साउनकै दरलाई निरन्तरता दिएका छन्। यस महिना कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

Advertisement

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२९ प्रतिशत र संस्थागततर्फ ०.२० प्रतिशतले ब्याजदर कटौती गरेको छ। नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर घटाएको छ।

यसैगरी सिटिजन्स बैंक इन्टरनेसनलले ०.१ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतले व्यक्तिगततर्फको ब्याजदर घटाएका छन्। यी तीन बैंकले संस्थागततर्फको दर भने स्थिर राखेका छन्।

नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल र प्रभु बैंकले (अधिकतम ४.५५ प्रतिशत) दिनेछन्। सबैभन्दा कम ब्याजदर कुमारी र सिद्धार्थ बैंकको (अधिकतम ३.७६ प्रतिशत) रहेको छ। संस्थागत मुद्दतीमा नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, एभरेष्ट र हिमालयन बैंकले सबैभन्दा धेरै ३.५ प्रतिशत तथा प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर तोकेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.