
काठमाडौं । साहित्य र संगीत क्षेत्रका मूर्धन्य व्यक्तित्व ‘जनकवि’ दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । आइतबार राति बुढानीलकण्ठस्थित निवासमा उनको निधन भएको हो ।
विगत ५ वर्षदेखि अस्वस्थ रहेका श्रेष्ठ पछिल्लो समय छोरा सुमन श्रेष्ठको निवासमा बस्दै आएका थिए ।
पछिल्लो छ दशकदेखि निरन्तर साहित्य साधनामा रहेका श्रेष्ठले नेपाल भाषा र नेपाली भाषामा कविता, गीत, र अन्य विधामा थुप्रै कालजयी कृतिहरू पस्किएका छन् । पञ्चायतविरुद्धको आन्दोलनमा उनका रचनाहरूले वैचारिक ऊर्जा प्रदान गरेका थिए । नेपाल भाषामा उनका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने दुई दशकअघि उनलाई ‘जनकवि’ को उपाधि प्रदान गरिएको थियो ।
उनले लेखेका ‘फूलको आँखामा फूलै संसार’, ‘झे मासिनी’ (हामी अझै मरेका छैनौँ), र ‘सय थरी बाजा एउटै चाल’ जस्ता गीतहरू विश्व प्रसिद्ध छन् । विशेषगरी ‘फूलको आँखामा फूलै संसार’ ले बोकेको सरल शब्दभित्रको गहिरो जीवनदर्शन र मानवीय संवेदनाले उनलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाएको छ ।
कलाकार हरिवंश आचार्यले श्रेष्ठलाई एक असल काव्य मन भएको स्रष्टाका रूपमा स्मरण गरेका छन् । आचार्यका अनुसार श्रेष्ठले फिल्म ‘१५ गते’ का लागि ‘सय थरी बाजा’ र टेलिसिरियल ‘लक्ष्मी’ का लागि ‘अहो पैसाको प्यास’ जस्ता उत्कृष्ट गीतहरू कोरेका थिए । श्रेष्ठ र आचार्यबीच ४० वर्ष लामो मित्रता र सहकार्य रहेको थियो ।
सरल शब्दमा गम्भीर जीवनदर्शन, मानवीय संवेदना, शान्ति र सहअस्तित्वको सन्देश प्रवाह गर्नु श्रेष्ठको लेखनको मुख्य विशेषता थियो । उनको निधनले नेपाल भाषाको साहित्य र संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।



















