भोजपुरमा बाँदरको आतंकः किसानको मेहनत जोखिममा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ०७:१९
भोजपुरमा बाँदरको आतंकः किसानको मेहनत जोखिममा तस्बिरः एआई

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोका कारण किसानहरूले लगाएको अन्नबाली जोगाउन मुस्किल भएको छ । वर्षभरि मेहनत गरेर उब्जाएको मकै तथा अन्य बाली पाक्ने बेलामा बाँदरको झुन्डले नष्ट गरिदिएपछि किसानहरू चिन्तित बनेका छन् ।

विशेष गरी वन जंगल आसपासका बस्ती र तल्लो भेगमा बाँदरको आतंक बढी देखिएको छ । भोजपुरका ९ वटै स्थानीय तहका अधिकांश भूभागमा यो समस्या फैलिएको छ । बाँदरले मकै मात्र नभई खेतबारीमा रहेका तरकारी र बगैँचाका फलफूल समेत सखाप पार्ने गरेको स्थानीयको दुखेसो छ ।

Advertisement

भोजपुर नगरपालिका–४ का स्थानीय कुमार राउतका अनुसार बाली जोगाउन किसानहरूले खेतबारीमै स–साना टहरा बनाएर दिनभर कुर्नुपर्ने बाध्यता छ । एउटै परिवारका दुई तीन जना सदस्य बाँदर धपाउनकै लागि दिनभर खटिनु पर्छ । ‘यसको दीर्घकालीन समाधानका लागि सरकारले प्रभावकारी योजना ल्याउनुपर्छ,’ राउतले भने ।
बाँदर नियन्त्रणका लागि डिभिजन वन कार्यालय भोजपुरले केही पहल भने सुरु गरेको छ । कार्यालयका प्रमुख खुद्रुस मियाँले किसानहरूको मागअनुसार स्थानीय तहसँगको समन्वयमा ‘बाँदर धपाउने यन्त्र’ वितरण गरिएको जानकारी दिए । यद्यपि, यो उपाय तत्कालका लागि सहयोगी भए पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको उनले स्वीकार गरे ।

बाँदरको उपद्रो यतिसम्म बढेको छ कि कतिपय किसानले बाली जोगाउन नसकेपछि खेतीपाती नै छाडेर गाउँबाट विस्थापित हुनुपर्ने स्थिति आएको छ । खेतीपातीमा निर्भर परिवारका लागि यो आर्थिक मात्र नभई सामाजिक चुनौतीको विषय बनेको छ । किसानहरूले स्थानीय, प्रदेश र संघीय सरकारसँग मिलेर बाँदर नियन्त्रणको दीर्घकालीन र वैज्ञानिक समाधान खोज्न माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.