
विराटनगर । नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको राधाकृष्ण रथ यात्राको ५९ औँ संस्करणको तयारी भव्य रूपमा भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट भदौ २० गते शनिबार निकालिने ५९ औँ राधाकृष्ण रथ यात्रालाई सुरक्षित, व्यवस्थित र उल्लासमय बनाउन आयोजक समितिले तयारी तीव्र पारेको छ ।
विराटनगरको मात्र नभई सम्पूर्ण मुलुककै धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीक बनेको यस रथयात्रामा मोरङ, झापा, सुनसरी लगायत देशका विभिन्न स्थान र भारतको सीमावर्ती क्षेत्रबाट समेत हजारौँ भक्तजनहरूको सहभागिता रहँदै आएको छ । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा दोस्रो ठुलो मानिन्छ ।
विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास करिब एक शताब्दी पुरानो छ । विक्रम संवत् १९८८ सालमा पण्डित इन्द्रलाल भट्टको अगुवाइमा राधाकृष्णको मूर्ति खटमा राखेर नगर परिक्रमा गराउने परम्पराको थालनी भएको थियो । मन्दिर निर्माणका लागि सज्जन पौडेल, सोमराज मुखिया पौडेल र कृष्णप्रसाद पौडेलले जग्गा उपलब्ध गराएका थिए । समयको गतिसँगै खट यात्राले ठुलो स्वरूप परिवर्तन गर्दै विक्रम संवत् २०२५ सालमा भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको लगानीमा रथ निर्माण भएपछि मूर्तिलाई रथमा विराजमान गराएर नगर परिक्रमा गराउन थालिएको हो ।
लामो समयदेखि प्रयोग हुँदै आएको पुरानो रथ जीर्ण भएपछि २०८२ सालमा रथलाई नयाँ डिजाइनमा निर्माण गरेर प्रयोगमा ल्याइएको छ । पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट रहेको छ ।
रथयात्रा मूल समारोह समितिका संयोजक एवं राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार यस वर्ष रथयात्रालाई अझ व्यवस्थित र भव्य बनाउने गरी तयारी अघि बढाइएको छ । उनका अनुसार रथयात्राको एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने, व्यवस्थापनका विभिन्न पक्षलाई प्रभावकारी बनाउन मूल समिति अन्तर्गत २१ वटा उपसमिति समेत बनाइएको छ ।
रथयात्रा भदौ २० गते शनिबार दिउँसो ३ः३० बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु हुनेछ । रथले करिब ९ किलोमिटर दूरी परिक्रमा गर्ने छ । रथयात्राका क्रममा भक्तजनहरूको सहजताका लागि ४० स्थानमा विश्रामको व्यवस्था गरिएको छ । मन्दिरबाट पूजाआजा गरेपछि सुरु भएको रथयात्रा तीनपैनी, मेन रोड, गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोड शेष चोक, बस पार्क, महेन्द्र चोक, बरगाछी हुँदै मन्दिर पुगेर समापन हुने संयोजक रेग्मीले बताए ।
यस वर्षको रथयात्रामा प्रधानमन्त्री बालेन शाहलाई सहभागी हुनका लागि औपचारिक निमन्त्रण गरे पनि त्यहाँबाट कुनै जानकारी नआएको संयोजक रेग्मीले बताए । रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि सुरक्षा संयन्त्र व्यापक रूपमा परिचालन हुनेछ । संयोजक रेग्मीले भने, ‘रथयात्रा धार्मिक भएकाले यहाँ आउने सबै भक्तजनहरूलाई आफ्नो बहुमूल्य वस्तु नलाई आउन अनुरोध गर्छु । भीड धेरै हुने भएकाले साना बालबालिका सुरक्षित तवरबाट रथयात्रा सहभागी गराउनु होला । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत अन्य सुरक्षा निकाय सक्रियताका साथ लाग्दै आउनु भएको र यस पटक लाग्नु हुनेछ ।’
रथयात्राको दुवै तर्फ डोरी हुनेछ । राधाकृष्ण सवार रथको डोरी तान्न र छुनेको अघि भीड रहँदै आएको छ । डोरी छाए मात्रै पनि पुण्य प्राप्त हुने र मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ । रथयात्रालाई भव्य बनाउनका लागि विभिन्न भेष भूषामा झाँकी, भजन कीर्तन टोली, बाजागाजाका टोलीहरू हुने छन् । रथयात्राले विराटनगरको सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई अझ प्रगाढ बनाउँदै आएको छ । पुस्ता हस्तान्तरण हुँदै आएको यो जीवित सांस्कृतिक विरासतलाई यस वर्षको ५९ औँ संस्करण अझ भव्य रूपमा निरन्तरता दिने विश्वास गरिएको आयोजक समितिले जनाएको छ ।



















