हराएका दुई वर्षीय बालक दुई दिनपछि सकुशल फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार १२:५३
 हराएका साढे दुई वर्षीय बालक दुई दिनपछि सकुशल फेला

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१४ भागरबाट हराएका साढे दुई वर्षीय बालक दुई दिनपछि सामुदायिक वनमा सकुशल फेला परेका छन् । गत भदौ २ गते बिहानदेखि बेपत्ता भएका शिवान तामाङलाई बिहीबार (आज भदौ ४ गते) बिहान स्थानीय शंखदेवी सामुदायिक वन क्षेत्रबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

भदौ २ गते बिहान करिब ७ बजे बालककी हजुरआमा हेमकुमारी आले घर नजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन् । उनी घर फर्किँदा नाति शिवान घरमा थिएनन् । परिवार र स्थानीय बासिन्दाले वन क्षेत्र र आसपासका ठाउँमा दिनभर खोजतलास गरे पनि बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा खबर गरिएको थियो ।

Advertisement

बालकको खोजीका लागि ठुलो संख्यामा प्रहरी र स्थानीय परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाको संयुक्त टोलीले दुई दिनदेखि निरन्तर खोजतलास जारी राखेको थियो ।

खोजतलासकै क्रममा आज बिहान करिब १० बजे बालक शिवानलाई शंखदेवी सामुदायिक वनअन्तर्गत पर्ने भागर खोलाको सिरानमा फेला पारिएको हो । दुई दिनसम्म जंगलको बीचमा रहे पनि बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । फेला परेका बालकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×