
काठमाडौं । काठमाडौंको कागेश्वरीबाट लागुऔषध ब्राउन सुगर र ४ लाख रुपैयाँसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–६ बाट दोलखाको सैलुङ गाउँपालिका–६ का २५ वर्षीय सविन कार्की र सप्तरीको शम्भुनाथ नगरपालिका–७ का ४१ वर्षीय अजय दासलाई ब्राउन सुगर र नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले उनीहरूको साथबाट ब्राउन सुगर ३२.५८ ग्राम र ४ लाख रुपैयाँ नगद बरामद गरेको छ। लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा निगरानी गर्दा उनीहरूलाई लागुऔषसहित पक्राउ फेला पारिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ब्राउन सुगर, नगदका अतिरिक्त दुई थान डिजिटल तराजु र दुई थान मोबाइल फोनसमेत बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई लागुऔषध (नियन्त्रण) ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



















