
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार कुल ७० हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन्।
कुल सङ्ख्यामध्ये ६० हजार ४७२ जना ८५.८ प्रतिशत पुरुष छन् भने ९ हजार ९६९ जना १४.२ प्रतिशत महिला छन्। साउन महिनामा १८ हजार ७८४ जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन्।
विभागका अनुसार मलेसियाका लागि १२ हजार ४९८ जना, कतार १० हजार ३६० जना, साउदी अरब ८ हजार ६१३ जना, कुवेत ४ हजार ५६७ जना र रोमानियामा २ हजार ९०८ जना गएका छन्।
त्यस्तै, खाडी मुलुकबाहेक जापान, ओमान, पोर्चुगल र टर्कीमा पनि नेपाली श्रमिकहरूको आकर्षण बढ्दो देखिएको छ। तराईको जिल्ला धनुषा जिल्लाबाट सबैभन्दा बढी ३ हजार ३६८ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, झापाका ३ हजार १४५ जना, मोरङका २ हजार ८३५ जना, सिराहाका २ हजार ६४८ जना र महोत्तरीका २ हजार ६२९ जना छन्।
विभागका अनुसार वैदेशिक रोजगारीमा जानेहरूमा दक्ष श्रमिकको सङ्ख्या सबैभन्दा बढी छ। ४० हजार ४९६ जना दक्ष श्रमिकका रूपमा बिदेसिएका छन्। १७ हजार ९९९ जना अदक्ष र ११ हजार ४६५ जना अर्ध–दक्ष श्रमिकका रूपमा बाहिरिएका छन्। उच्च दक्ष र व्यावसायिक क्षेत्रमा जानेको सङ्ख्या भने निकै न्यून १०३ र ३७८ जना छ।

























