बालिका हत्या प्रकरण: ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार ०७:५८
बालिका हत्या प्रकरण: ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर जारी आन्दोलन फिर्ता भएको छ । बिहीबार मध्यरातमा पीडित पक्ष र प्रशासनबीच ५ बुँदे सहमति भएसँगै विरोधका सबै कार्यक्रम स्थगित गरिएको छ ।

भदौ २ गते भएको उक्त घटनाको विरोधमा उत्रेका परिवार, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूसँग जिल्ला सुरक्षा समितिले सशस्त्र प्रहरी बलको पथलैयास्थित तालिम शिक्षालयमा वार्ता गरेको थियो । लामो छलफलपछि भएको सहमतिबारे बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।

Advertisement

बैठकले पीडित परिवारलाई उचित राहत र रोजगार व्यवस्थापनका लागि स्थानीय तहको समेत सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी पहल गर्ने निर्णय गरेको छ।

साथै, घटनामा संलग्न सन्दिग्धहरू हाल प्रहरी हिरासतमा रहे पनि अनुसन्धानका क्रममा अन्य कसैको संलग्नता पुष्टि भएमा उनीहरूमाथि पनि नियमानुसार कडा कारबाही अघि बढाउने सहमति पनि गरिएको छ। सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन जिल्लाको वर्तमान र भविष्यका सुरक्षा चुनौतीहरूको विश्लेषण गरी भरपर्दो वातावरण मिलाउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिएको छलफलमा सहभागी जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष हिराबहादुर लामाले बताएका छन्।

यस्तै, इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा लापरबाही देखाउने सुरक्षाकर्मीहरूलाई आवश्यक कारबाही गर्ने माग पूरा भएपछि प्रशासन र पीडित पक्ष आन्दोलन रोक्न सहमत भएका उनले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×