‘सेतो धरती’ भदौ १२ देखि विराटनगरका दर्शकमाझ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार ०८:५७

विराटनगर। काठमाडौंमा १०१ शोको सफल प्रदर्शन गरेको चर्चित नाटक ‘सेतो धरती’ अब विराटनगरमा मञ्चन हुने भएको छ। कान्तिपुर थिएटरमा लामो समय दर्शकको साथ पाएको नाटक भदौ १२ देखि १४ गतेसम्म आरोहण गुरुकुल, विराटनगरमा प्रदर्शन गरिने भएको हो।

तीन दिनसम्म हरेक दिन तीन शो मञ्चन हुनेछन्। नाटक बिहान ९ बजे, दिउँसो १२ बजे र ३ बजे प्रदर्शन गरिने आयोजकले जनाएको छ। नाटकको टिकट अनलाइनबाट समेत बुक गर्न सकिने व्यवस्था गरिएको छ।

Advertisement

अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ मा आधारित नाटकलाई सुन्दर धितालले निर्देशन गरेका हुन्। नाटकमा बालविवाह, बाल्यकालमै विधवा बन्नुपर्दाको पीडा, विधवामाथि समाजले थोपरेका कठोर सामाजिक नियम, नारीको यौनिक कुण्ठा तथा पितृसत्तात्मक संरचनाभित्र दबिएका महिलाका आकांक्षालाई प्रस्तुत गरिएको छ।

उपन्यासको वृहत् कथावस्तुलाई करिब डेढ घण्टाको मञ्चीय प्रस्तुतिमा रूपान्तरण गरिएको हो। उपन्यासका प्रमुख पात्र, घटना र स्थानलाई छनोट गरेर नाटक तयार पारिएको निर्देशक धितालले बताएका छन्। नाटकको मुख्य पात्र ‘तारा’को जीवनमार्फत नेपाली समाजमा कुनै समय विद्यमान बालविवाह र बालविधवाको कठोर यथार्थलाई मञ्चमा उतारिएको छ। ताराको बाल्यकालदेखि युवावस्था हुँदै वृद्धावस्थासम्मको जीवनयात्रा नाटकमा देखाइएको छ।

ताराको भूमिकामा बेनिशा हमाल, सुष्मिता श्रेष्ठ र एड्रिन धमलाले अभिनय गरेका छन्। फरक–फरक उमेरका तारालाई फरक कलाकारले प्रस्तुत गरे पनि पात्रको निरन्तरता र भावनात्मक सम्बन्धलाई अभिनयमार्फत जोडिएको छ।

नाटकमा २४ जना कलाकारको अभिनय रहेको छ। मञ्च, पार्श्व संगीत र कथावाचनलाई प्रस्तुतिको बलियो पक्षका रूपमा लिइएको छ। ताराको अतीत र वर्तमानबीच आउने–जाने कथावाचन शैलीले नाटकलाई अघि बढाउँछ। देवघाटबाट सुरु हुने नाटक फेरि देवघाटमै पुगेर टुंगिन्छ। त्यसबीच दर्शक ताराको बाल्यकाल, विवाह, वैधव्य र जीवनका विभिन्न मोड हुँदै उनको वर्तमानसम्म पुग्छन्।

नाटकमा प्रयोग गरिएको मञ्च संरचनाले ताराको माइतीघर, घर, खेल्ने ठाउँदेखि उनको कुटीसम्मका विभिन्न परिवेशलाई एउटै मञ्चमा प्रस्तुत गरेको छ। कथाको भावअनुसार तयार पारिएका गीत र निरन्तर बज्ने प्रत्यक्ष पार्श्व संगीतले समेत प्रस्तुतिलाई प्रभावशाली बनाएको छ।

‘सेतो धरती’ले उठाएको विषय अहिले पनि सान्दर्भिक रहेको निर्देशक तथा कलाकारहरूको भनाइ छ। कानुनले २० वर्षभन्दा कम उमेरमा विवाहलाई प्रतिबन्ध गरे पनि किशोरी अवस्थामै विवाह गर्ने र आमा बन्ने क्रम पूर्ण रूपमा रोकिएको छैन। नाटकले भने आजभन्दा केही दशकअघिको नेपाली समाजमा बालविवाह र बालविधवाले भोगेको पीडादायी जीवनलाई केन्द्रमा राख्छ।

कल्पना गरौँ- सात वर्षको उमेर। खेल्ने, रमाउने र आफ्नै इच्छाअनुसार बाँच्ने समय। तर त्यही उमेरमा विवाह गरिन्छ, विवाहको अर्थसमेत नबुझ्दै कसैकी श्रीमती बनाइन्छ। त्यसपछि एक दिन समाजले उसैलाई ‘विधवा’को परिचय दिन्छ। चुरा फुटाइन्छ, सेतो कपडा लगाइन्छ र उसका रहर तथा इच्छामाथि सामाजिक बन्देज लगाइन्छ। हाँसो, उमंग र भविष्यका सपनासमेत खोसिन्छन्। यही कठोर यथार्थ ‘सेतो धरती’ले ताराको जीवनमार्फत मञ्चमा उतार्छ।

नाटकमा यमुना र ताराजस्ता पात्रमार्फत महिलाको जीवन, चाहना र सामाजिक बन्धनबीचको द्वन्द्वलाई समेत प्रस्तुत गरिएको छ। रंगीन वैवाहिक जीवन र सेतो वैधव्यबीचको दृश्यात्मक अन्तरले नाटकको भावलाई अझ तीव्र बनाउँछ। ‘सेतो धरती’ उपन्यास पढिसकेका दर्शकका लागि आफ्ना प्रिय पात्रहरूलाई मञ्चमा जीवित देख्नु छुट्टै अनुभव बन्नेछ। उपन्यास नपढेका दर्शकका लागि भने नाटकले नेपाली समाजको एउटा कठोर विगतसँग परिचित गराउनेछ।

काठमाडौंमा १०१ शो पूरा गरेपछि राजधानी बाहिर पहिलोपटक विराटनगर आउन लागेको नाटकले यहाँ पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ। ‘सेतो धरती’ भदौ १२, १३ र १४ गते आरोहण गुरुकुल, विराटनगरमा हरेक दिन बिहान ९ बजे, दिउँसो १२ बजे र ३ बजे मञ्चन हुनेछ।

तपाइको प्रतिक्रिया
अमेरिका-क्यानडा व्यापार सम्झौताको प्रयास असफल, ५० प्रतिशत भन्सारले तनाव चर्कियो
बालिका हत्या : न्याय माग्दै प्रदर्शन जारी, राजमार्ग बन्द
विश्वकप फाइनलको झगडामा अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाको प्रतिबन्ध
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×