
सिराहा । सिराहाको औरही गाउँपालिका–५ स्थित गागन खोलामा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा करिब चार किलो शङ्कास्पद काँचो मासुसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–५ मुस्लिम टोलका २५ वर्षीय मोहतर अलि र सोही टोलका २९ वर्षीय मोहमद अफरोज खान रहेका छन्।
प्रहरीका अनुसार उनीहरू मधेस प्रदेश ०१–००४ प ९५०६ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चेकजाँचका क्रममा शङ्कास्पद मासुसहित नियन्त्रणमा परेका हुन्।
बरामद मासु प्रारम्भिक रूपमा गाईको मासुजस्तो देखिएको र भारतबाट ल्याइएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। यद्यपि मासु कुन जनावरको हो भन्ने यकिन परीक्षण तथा थप अनुसन्धानपछि मात्र हुने प्रहरीले स्पष्ट पारेको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रमेश पालले जानकारी दिए।



















