
विराटनगर । उदयपुरको कटारीमा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
कटारी नगरपालिका–४ स्थित मरुवा खोलामा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना ७ ख ८१७३ नम्बरको टिपरबाट १९९.३२ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिपरभित्र ९ वटा बोरामा सावधानीपूर्वक लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको थियो ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा टिपर चालक सोम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध ओसारपसार ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ । गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्याउन लागिएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















