
काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा एक ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुई नाबालकसहित ७ जना वयस्क रहेका छन् ।
गत भदौ २ गते जितपुरसिमरा–१ भक्तिनगरस्थित एक खाली घरमा बालिका मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बाराले अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी आरोपितहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा जितपुरसिमरा–१ का २४ वर्षीय पुग्रेश चौधरी, ५० वर्षीय इन्द्रजित चौधरी, २५ वर्षीया पुष्पा चौधरी, २६ वर्षीया ममता चौधरी, ४५ वर्षीय शेख हसमुदिन आलम, ४० वर्षीय टेकबहादुर थापामगर र वडा नम्बर–२ का ३३ वर्षीय नवीन विक रहेको प्रहरीले जनाएको छ । साथै, १६ र १४ वर्षका दुई बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार अदालतबाट म्याद थप गरी उनीहरूमाथि सूक्ष्म अनुसन्धान भइरहेको छ ।



















