भोजपुरको बारीबाट हराउँदै रैथाने कोदो: दुःख धेरै, आम्दानी थोरै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार ०७:५७
भोजपुरको बारीबाट हराउँदै रैथाने कोदो: दुःख धेरै, आम्दानी थोरै

भोजपुर । कुनै समय पहाडी जनजीवनको अभिन्न हिस्सा मानिने कोदो खेती अहिले भोजपुरका किसानको बारीबाट बिस्तारै ओझेलमा पर्न थालेको छ । कोदोको ढिँडो, रोटी र सातु जस्ता परम्परागत खाद्यान्नको ठाउँ आधुनिक खानपानले लिँदै गएपछि यसको खेती संकटमा परेको हो ।

उपयुक्त जमिन र अनुकूल हावापानी भए पनि बढी मेहनत लाग्ने तर प्रतिफल कम हुने भएकाले किसानहरू कोदो छाडेर नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् । टेम्केमैयुङ–६ का किसान रामकुमार राई भन्छन्, ‘कोदो खेती गरेर जीवन धान्न मुस्किल छ । धेरै मेहनत गर्नुपर्छ तर बजार र आम्दानी नभएपछि अहिले घरमा खानका लागि मात्रै थोरै लगाउने गरेका छौँ ।’

Advertisement

भोजपुर नगरपालिका–५ का किसान रूपनारायण फुयाँलका अनुसार पहिले गाउँभरि देखिने कोदोका बालाहरू अहिले कमै देखिन्छन् । स्थानीय बजारमा कोदो प्रति किलो १४० देखि १७० सम्ममा बिक्री हुने गरे पनि यसको व्यावसायिक सुनिश्चितता छैन । कतिपय ठाउँमा त उत्पादित कोदो खाद्यान्नका रूपमा भन्दा जाँड–रक्सी बनाउन बढी प्रयोग हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांक अनुसार जिल्लामा करिब ५ हजार हेक्टर जमिन कोदो खेतीका लागि उपयुक्त छ । तर, किसानहरू तरकारी र फलफूल खेतीमा लाग्दा यो रैथाने बाली लोप हुने अवस्थामा पुगेको केन्द्रले जनाएको छ ।

पौष्टिक तत्त्वले भरिपूर्ण कोदो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तर, बजारको अभाव र बढ्दो श्रम लागतका कारण यो परम्परागत बाली जोगाउन चुनौती थपिएको छ । स्थानीय किसानहरूले कोदोको उत्पादन बढाउन र यसलाई जोगाइराख्न सरकारले उचित बजार र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । कोदो हराउँदै जाँदा स्थानीय कृषि संस्कृति र पुस्तौँदेखिको ज्ञानसमेत हराउने जोखिम बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×