
इलाम । इलामको रोङ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले काम अलपत्र पारेपछि ठेक्का सम्झौता रद्द गरेको छ । विराटनगरस्थित नमुना कन्स्ट्रक्सनले पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगरेपछि गाउँपालिकाले सम्झौता अन्त्य गरेको हो ।
गाउँपालिका र निर्माण कम्पनीबिच २०७८ मंसिर १७ गते भवन निर्माणका लागि सम्झौता भएको थियो । पछिल्लो पटक थपिएको अन्तिम म्याद २०८२ पुस १५ गते नै समाप्त भइसकेको थियो । म्याद सकिएर पूर्वनिर्धारित क्षतिपूर्ति (हर्जाना) लागू भएको २०० दिन पूरा भइसक्दा समेत निर्माण व्यवसायीले काममा कुनै चासो नदेखाएपछि गाउँपालिकाले यो कठोर कदम चालेको हो ।
गाउँपालिकाका अनुसार काम सम्पन्न गर्न निरन्तर लिखित तथा मौखिक ताकेता गर्दा समेत कम्पनीले सम्झौताको सर्तबमोजिम करारीय दायित्व पूरा गरेको थिएन । निर्माण व्यवसायीबाट अब काम सम्पन्न हुने आधार नदेखिएपछि सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को विभिन्न प्रावधानलाई आधार मान्दै ठेक्का रद्द गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँ कार्यपालिकाको गत भदौ ५ गते बसेको बैठकको निर्णयअनुसार सम्झौता अन्त्य गरिएको जानकारी मंगलबार सार्वजनिक सूचनामार्फत दिइएको हो । यससँगै काम अलपत्र छाड्ने निर्माण कम्पनीलाई कानुनी कारबाही र कालोसूचीको प्रक्रियामा लैजाने बाटो समेत खुलेको छ ।




















