मोरङबाट भारततर्फ सुँगुरका पाठा तस्करी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १५:५५

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रबाट विभिन्न वस्तुको अवैध ओसारपसार हुँदै आएको विषय नौलो होइन । खुला सीमाको फाइदा उठाउँदै कपडा, खाद्यान्न, इलेक्ट्रोनिक सामान, मदिरा, लागुऔषधदेखि पशुपन्छीसम्म तस्करी हुने गरेका घटना बेलाबेला सार्वजनिक हुँदै आएका छन् ।

तर, मोरङको दक्षिणी सीमावर्ती क्षेत्रबाट भने पछिल्लो समय सुँगुरका पाठासमेत भारततर्फ अवैध रूपमा लैजाने गरिएको घटना बाहिर आएको छ । मोरङको धनपालथान गाउँपालिका–३, चेका खोलाबाट भारततर्फ तस्करी गर्न लागिएका ५१ वटा सुँगुरका पाठा प्रहरीले बरामद गरेपछि सुँगुरका पाठा तस्करीको नयाँ रहस्य पत्ता लागेको हो ।

Advertisement

मंगलबार बिहान करिब ११ बजेतिर भारततर्फ लैजाँदै गरिएको अवस्थामा प्रहरीले सुँगुरका पाठा बरामद गरेको छ । प्रहरीका अनुसार ६ वटा साइकलमा प्लास्टिकका बोरामा राखेर भारततर्फ लैजाँदै गर्दा सुँगुरका पाठा बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय मायागन्जबाट खटिएको टोलीले सुँगुरका पाठा बरामद गरेको हो । प्रहरी टोलीलाई देखेपछि तस्करीमा संलग्न व्यक्तिले सुँगुरका पाठा र साइकल छाडेर भारततर्फ भागेका थिए ।

प्रहरीले घटनास्थलबाट ५१ वटा सुँगुरका पाठा र ६ वटा साइकल बरामद गरेको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार बरामद सुँगुरका पाठाको अनुमानित मूल्य १ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

सुँगुरका पाठा बोकेर सीमापारि लैजान खोजिएको घटनाले सीमा क्षेत्रमा हुँदै आएको तस्करीको स्वरूप परम्परागत सामानमा सीमित नरहेको प्रष्ट हुन्छ । ‘यसअघि विभिन्न वस्तु र पशुपन्छीको अवैध ओसारपसारका घटना सार्वजनिक हुँदै आए पनि सुँगुरका पाठालाई समेत संगठित रूपमा सीमापारि लैजान खोजिएको घटनाले सुरक्षा निकायको ध्यान तानेको छ,’ डीएसपी श्रेष्ठले भने ।

सुँगुरका पाठा र साइकल बरामद गरेर तस्करीमा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ । सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा सक्रियता बढाइए पनि तस्करहरूले नयाँ–नयाँ तरिका अपनाउने गरेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×