भारतबाट नेपाल छिरेर चोरी, मोरङमा दुई जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १६:४२
सांकेतिक फोटो ।

विराटनगर । नेपालमा चोरी गर्ने र सामान बोकेर सीमापारि फर्किने योजना बनाएका दुई भारतीय नागरिक मोरङबाट चोरीको मोटर पम्पसहित पक्राउ परेका छन् ।

नेपाल–भारत सीमाबाट नेपाल प्रवेश गरी चोरी गरेर पुनः भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा मोरङको रतुवामाई नगरपालिका–२ बालुबारीबाट मंगलबार बिहान उनीहरु पक्राउ परेका हुन् । धान खेतमा सिँचाइका लागि जडान गरिएको मोटर पम्प चोरी गरेर भारततर्फ लैजाँदै गरेको सूचना पाएपछि प्रहरीले तत्काल खोजी थालेको थियो ।

Advertisement

बिहानको समयमा मोटर पम्प बोकेर सीमातर्फ अघि बढिरहेका उनीहरूलाई प्रहरीले बाटोमै रोकेर नियन्त्रणमा लिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार रतुवामाई–२ बालुबारी बस्ने मदन महतोको घरबाट करिब ४ सय मिटर दक्षिणतर्फ रहेको धान खेतमा सिँचाइका लागि जडान गरिएको मोटर पम्प चोरी भएको सूचना इलाका प्रहरी कार्यालय डोरियामा पुगेको थियो ।

सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक (सई) बलदेव सुवेदीको नेतृत्वमा प्रहरी खटिएको थियो । खोजतलासका क्रममा बालुबारीबाट भारततर्फ जाँदै गरेका दुई जनालाई मोटर पम्पसहित बिहान करिब ५ः३० बजेतिर नियन्त्रणमा लिएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका भारतको किशनगन्ज जिल्ला भैडाग्राम पञ्चायतका २३ वर्षीय सर्बेज आलम र २१ वर्षीय अरबाज आलमलाई पक्राउ गरिएको हो । प्रहरीले नियन्त्रणमा लिँदा दुवै जना बीआर ३७ वाई ८१४४ नम्बरको मोटरसाइकलमा सवार थिए ।

पक्राउ परेकाको साथबाट चोरीको मोटर पम्प सेट र चोरीमा प्रयोग भएको मोटरसाइकल बरामद भएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय नेपाल–भारत सीमावर्ती क्षेत्रमा चोरीका घटना हुँदा सीमापारिबाट नेपाल प्रवेश गर्ने र चोरीपछि पुनः भारततर्फ भाग्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

खुला सीमाका कारण दुवै देशका नागरिकको आवतजावत सहज रहेकाले आपराधिक गतिविधि नियन्त्रणमा चुनौतीसमेत थपिएको छ । विशेषगरी सीमावर्ती गाउँमा घर तथा खेतमा जडान गरिएका मोटर पम्प, कृषि उपकरण, चौपाया र अन्य सामग्री चोरी हुने गरेका छन् ।

चोरीपछि सामानसहित सीमापारि पुग्ने प्रवृत्तिका कारण सीमा क्षेत्रमा निगरानी र गस्ती बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । ‘भारतीयहरु नेपाल छिरेर चोरी गर्ने र चोरीका सामानसहित तत्काल भारत पुग्ने गरेको पाइयो । चोरी लगायतका अन्य अवैध गतिविधि नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ,’ एसपी कटवालले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×