
इटहरी । बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय सुनाइएको भए पनि लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई सुनसरीबाट पक्राउ गरिएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका सुनसरीको बराहक्षेत्र नगरपालिका–५ घर भई हाल इटहरी उपमहानगरपालिका–५ बस्दै आएका ३८ वर्षीय मुक्तिनाथ दाहाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उच्च अदालत विराटनगरको इलाम इजलासले २०७९ असार ३० गते गरेको दाहाललाई दोषी ठहर गरेको थियो ।
फैसलाअनुसार दाहालले उक्त मुद्दामा ८ लाख ४० हजार रुपैयाँ बिगो तथा ४२ हजार रुपैयाँ जरिबाना भुक्तान गर्न बाँकी रहेको छ । दोषी ठहर भएका उनी ४ वर्षदेखि फरार प्रतिवादीको सूचीमा रहेका थिए ।
उनलाई खोजतलासका क्रममा इटहरी उपमहानगरपालिका–१ आँपगाछीबाट मंगलबार बिहान पक्राउ गरिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । पक्राउ परेका दाहाललाई आवश्यक कानुनी कारबाहीका लागि झापा जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।



















