‘सरु संगीत राष्ट्रिय पुरस्कार २०८३’ वरिष्ठ गायिका मीरा राणालाई

Share this
811shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ०८:२६

ललितपुर । वरिष्ठ गायिका मीरा राणालाई ‘सरु संगीत राष्ट्रिय पुरस्कार २०८३’ प्रदान गरिने भएको छ। सरु संगीत घर, टिकाथली, ललितपुरले नेपाली आधुनिक गीत–संगीतको क्षेत्रमा लामो समयदेखि पुर्‍याउँदै आएको योगदानको कदर गर्दै राणालाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

सरु संगीत घरका अनुसार पुरस्कार छनोटका लागि संगीतकार कोमल निरौलाको संयोजकत्वमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा. रत्नमणि नेपाल र सदस्यसचिव डेनी निरौलासहितको स्वतन्त्र छनोट समिति गठन गरिएको थियो। समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको हो।

Advertisement

राणाले नेपाली आधुनिक गीत–संगीतको क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आएकी छन्। उनी यस पुरस्कार प्राप्त गर्ने दोस्रो साधक बन्नेछिन्। यसअघि २०८२ सालमा प्रसिद्ध लोकगायिका कविता आलेलाई पहिलोपटक ‘सुर संगीत राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको थियो।

पुरस्कारको राशि २५ हजार ५ सय ५ रुपैयाँ रहेको छ। हरेक वर्ष प्रदान गरिने पुरस्कार स्थापनाका लागि पाँच लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरिएको जनाइएको छ। राणालाई पुरस्कार आगामी असोज १० गते शनिबार सुर संगीत घरको छैटौँ वार्षिक कार्यक्रममा प्रदान गरिनेछ।

स्वर्गीय सरस्वती निरौलाको स्मृतिमा संगीतकार कोमल निरौला, इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला, सबिता नेपाल निरौला, संगीतकार भीषण निरौला, सिर्जना अधिकारी, गायिका झुमा निरौला तथा सविन भट्टराईको संयुक्त प्रयासमा २०८२ सालमा पुरस्कार स्थापना गरिएको हो।

सरु संगीत घरका अनुसार स्वदेश तथा विदेशमा रहेर नेपाली गीत–संगीतको क्षेत्रमा विशिष्ट योगदान गरेका ४० वर्ष उमेर पूरा गरेका नेपाली महिला यस पुरस्कारका लागि योग्य हुनेछन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा रहेको सरु संगीत घरले संगीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ। संस्थामा गायन र वाद्यवादनलगायत विधामा हाल करिब १०० जना विद्यार्थी अध्ययनरत रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×