जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १३:०७
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु

विराटनगर । जोगबनी भन्सारका क्लियरिङ एजेन्टहरूले गत भदौ ८ गतेदेखि सुरु गरेको ‘पेन डाउन’ (काम ठप्प) आन्दोलन फिर्ता लिएसँगै बुधबारदेखि जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुरु भएको छ ।

ल्यान्ड पोर्ट अफ इन्डिया (एलपीआई) र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग सम्बन्धित विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका एजेन्टहरू उद्योग संगठन मोरङको पहलमा भएको वार्तापछि काममा फर्किएका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको टोली र सम्बन्धित भारतीय निकायबिच भएको छलफलपछि सीमा पार व्यापार सामान्य अवस्थामा फर्किएको छ ।

Advertisement

वार्ताका क्रममा अध्यक्ष राठीले आन्दोलनका कारण ७ सयभन्दा बढी मालवाहक ट्रकहरू सीमामा रोकिँदा नेपाली उद्योग र व्यवसायमा प्रत्यक्ष असर परेको बताए । उनले एलपीआई र एसएसबीले एजेन्टहरूको जायज माग सम्बोधन गर्दै मर्यादित र सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

भन्सार एजेन्टहरूले उठाएका समस्याबारे जवाफ दिँदै एलपीआईका प्रबन्धक रत्नाकरले हाल सञ्चालनमा रहेको एक मात्र नगद काउन्टरलाई दुई हप्ताभित्र तीन वटा पुर्‍याउने प्रतिबद्धता जनाए । साथै, भन्सार जाँच पास प्रक्रियामा देखिएको सर्भर डाउनको समस्या समाधान गर्ने र हालको एउटा गेटलाई विस्तार गरी तीन वटा बनाउन बजेट प्राप्त हुनासाथ काम अघि बढाउने उनले बताए ।

जोगबनी भन्सार क्लियारिङ एजेन्ट संघका अध्यक्ष रामबाबु यादवले एलपीआईको व्यवस्थापकीय कमजोरीका कारण मालवाहक सवारी साधन नेपाल प्रवेश गर्न ढिलाइ हुने गरेको गुनासो गरे । उनले एसएसबीबाट व्यवसायी र एजेन्टमाथि हुने अपमानजनक व्यवहारमा सुधार हुनुपर्ने माग समेत राखेका थिए ।

छलफलमा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष विपिन काबरा, कार्यसमिति सदस्य दीपक अग्रवालका साथै एलपीआई र एजेन्ट संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नाका सुचारु भएपछि रोकिएका मालवाहक सवारीहरू नेपाल भित्रिने क्रम सुरु भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×