
विराटनगर । नेपाली महिलाहरूको चाड हरितालिका तीजको अवसरमा मोरङ उद्योग व्यापार संघ, महिला उद्यम समितिले ‘तीजोत्सव’ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा प्राप्त उपलब्धिहरू अग्रज महिलाहरूको लामो संघर्षको परिणाम भएको बताइन् । उनले महिला सशक्तीकरणलाई थप प्रभावकारी बनाउन महिलाहरूबीच एकता, संगठन र सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिइन् ।
कार्यक्रमकी सभापति एवं महिला उद्यम समितिकी संयोजक श्रुति शर्माले तीजलाई नेपाली समाजको धार्मिक र सांस्कृतिक जीवनसँग जोडिएको अभिन्न पर्वको रूपमा चित्रण गरिन् । यस्ता कार्यक्रमले व्यावसायिक व्यस्तताका बीच महिला उद्यमीहरूलाई आपसमा भेटघाट, अनुभव साटासाट र पारस्परिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो ।
सो अवसरमा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले महिलाहरू हाल घरपरिवारको सीमाभन्दा बाहिर निस्किएर आर्थिक र व्यावसायिक क्षेत्रमा सशक्त रूपमा अघि बढिरहेको बताए । कार्यक्रममा संघका पदाधिकारी, युवा उद्यम समितिका पदाधिकारी लगायत विभिन्न संघ–संस्थाका महिला उद्यमीहरूको उपस्थिति रहेको थियो ।



















