
काठमाडौं । प्रधानमन्त्री बालेन शाह (बालेन)लाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले झापा घर भएका एक जना युवकलाई पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका–९ घर भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दाहाल पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दाहालले इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई लक्षित गरेर आगामी २३ भदौमा ‘सिध्याइदिने’ भन्दै धम्कीपूर्ण स्टाटस लेखेका थिए । उनले उक्त स्टाटसमा प्रहरीलाई समेत ट्याग गर्दै प्रहरीप्रति अपशब्द प्रयोग गरेको बताइएको छ ।
पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार दाहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेका छन् ।
प्रहरीले उनको सामाजिक सञ्जाल गतिविधि तथा धम्की दिनुको कारणका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।



















