इटहरीका डीएसपी सुवास हमाल सर्वोत्कृष्ट प्रहरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १८:३३

विराटनगर । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाल साउन महिनामा कोशी प्रदेशको ‘सर्वोत्कृष्ट प्रहरी’ बन्न सफल भएका छन् ।

कर्तव्य निर्वाहका क्रममा उच्च मनोबल, साहस, अनुशासन र व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा हमाललाई साउन महिनाको ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा साउन १० गते विभिन्न समुदायका व्यक्तिहरूबीच भएको झडपपछि उत्पन्न हिंसात्मक तथा ध्वंसात्मक अवस्थालाई नियन्त्रणमा लिन डीएसपी हमालको नेतृत्वमा प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको थियो ।

Advertisement

साउन २७ गतेसम्म उक्त क्षेत्रमा निरन्तर खटिएर प्रहरीले संवेदनशील क्षेत्रको निगरानी, निषेधाज्ञा तथा कर्फ्यु कार्यान्वयन र शान्ति–सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रहरीको सक्रियताका कारण सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा हुन सक्ने आगजनी, तोडफोड तथा थप जनधनको थप क्षति रोक्न प्रहरी सफल भएको थियो ।

घटनामा मृत्यु भएका व्यक्तिको दाहसंस्कारका क्रममा समेत आवश्यक सुरक्षा व्यवस्था मिलाउँदै देवानगन्ज क्षेत्रमा थप हिंसा फैलिन नदिन प्रहरी टोली अहोरात्र खटिएको थियो । त्यसैगरी, डीएसपी हमालको नेतृत्वमा इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगरसहित उल्लेख्य संख्यामा लागुऔषध कारोबारी पक्राउ गरिएको थियो । प्रहरीले उनीहरूको साथबाट २३ दशमलव १३ ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ ।

यस्तै, विभिन्न स्थानबाट भन्सार छली ल्याइएका कपडालगायत खाद्यान्न सामग्रीसमेत बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सुनसरीमा दाखिला गरिएको थियो । जिम्मेवारीलाई अनुशासित, व्यावसायिक, कर्तव्यनिष्ठ र उच्च मनोबलका साथ पूरा गर्दै आम नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन महत्वपूर्ण भूमिका खेलेको मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयले डीएसपी हमाललाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

हमालले प्रहरी संगठनको गरिमा र श्रीवृद्धिका लागि त्रुटिरहित ढंगले उत्कृष्ट कार्यसम्पादन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×